५ कात्तिक,वीरगञ्ज । लोक आस्थाको महापर्व छठ पूजा नजिकिँदै गर्दा वीरगञ्जका गरिब तथा विपन्न ब्रतालु महिलाहरूलाई सहयोग गर्दै लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफले आवश्यक सामग्री वितरण गरेको छ।
वीरगञ्ज महानगरपालिका–१८ स्थित सुखचैना गाउँमा बुधबार आयोजित कार्यक्रममा क्लबले ४० जना महिलाहरूलाई साडीसहित छठ पूजाका सामग्रीहरू वितरण गरेको हो।
क्लबका सचिव रोशन गुप्ताका अनुसार, प्रत्येक महिलालाई नयाँ साडी १ थान, गहुँ ५ किलोग्राम, खाने तेल १ लिटर, बाँसको सुपली, नरिवल, भेली, केराउ लगायतका छठ पूजामा आवश्यक सामग्री प्रदान गरिएको हो।
गुप्ताले छठ पर्व मनाउन आर्थिक रूपमा कमजोर महिलाहरूलाई सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जानकारी दिए।
सामग्री वितरण कार्यक्रममा क्लबका अध्यक्ष विनोद खण्डेलवाल, सन्नज अग्रवाल, देवनन्दन अग्रवाल, वीरेन्द्र साह, अमित सर्राफ, उषा शाह लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
स्थानीय महिलाहरूले यस्तो सहयोगले आफूहरूलाई छठ पर्व मनाउन ठूलो सहजता भएको प्रतिक्रिया दिएका छन्।
लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष धार्मिक तथा मानवसेवा अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम गर्दै आएको छ।
















