५ कात्तिक,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित दुई व्यापारिक प्रतिष्ठानमा बुधबार बिहान भीषण आगलागी भएको छ । बिहान करिब २ बजेतिर लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, वीरगञ्ज-१६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोर मा आगलागी भएको थियो । आगलागी बिहान २ बजेतिर सुरु भएर करिब ५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको हो । आगो निभाउन वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।
आगलागीको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
आगलागीबाट प्रतिष्ठानमा भएको क्षतिको यकिन विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, केमिकल र खुद्रा सामानको ठूलो मात्रामा भण्डारण रहेकाले क्षति करोडौंमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
















