Logo

५ कात्तिक,वीरगञ्ज ।बाराका विभिन्न स्थानहरूमा एक बहुला कुकुरले आक्रमण गरी ५२ जनालाई टोकेको छ। यो घटनामा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेयसहित स्थानीय बासिन्दा घाइते भएका छन्। पाण्डेय मोटरसाइकलमा भरतचोक तर्फ जाँदै गर्दा उक्त कुकुरले उनलाई लखेटेर टोकेको बताइएको छ।

प्रादेशिक अस्पताल कलैयाका अनुसार, कुकुरको आक्रमणबाट घाइते भएका ५२ जनाको उपचार अस्पतालमा भइरहेको छ भने ती मध्ये केही घाइतेहरूको थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।

घटना घटेको क्षेत्रहरूमा बहुला कुकुर नियन्त्रण बाहिर रहेको छ र लगातार मानिसहरूलाई टोदै हिँडिरहेको छ। बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतका स्थानहरूमा कुकुरले आक्रमण जारी राखेको स्थानीय स्रोतहरूले जनाएका छन्।

यो घटनापछि स्थानीय बासिन्दामा ठूलो त्रास फैलिएको छ। कुकुर दक्षिण दिशातर्फ लागिरहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले उक्त कुकुरको खोजतलास र नियन्त्रणका लागि प्रहरी टोली परिचालन गरेको छ भने बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट जारी सूचनामा जनताको सुरक्षा सर्वोपरि रहेको र यस्ता घटनामा प्रहरी सक्रिय रहने जनाइएको छ।


सम्बन्धित समाचार