५ कात्तिक,जनकपुरधाम। जनकपुरधामको धार्मिक आस्थाको केन्द्र जानकी मन्दिर यस वर्षको दीपावलीको रातमा श्रद्धाभावभन्दा बढी होहल्ला, धुवाँ र ठूलो आवाजका पटाकाले गुञ्जिएको पाइएको छ । मन्दिर परिसरभित्र सयौँ युवाहरूले आतिशबाजी गर्दै रमिता मच्चाएको दृश्यले स्थानीय, श्रद्धालु र धार्मिक अगुवाहरूलाई स्तब्ध बनाएको छ ।
स्थानीयहरूका अनुसार मन्दिर परिसरमा धुवाँ, बारुदको गन्ध र ठूलो आवाजले शान्ति र भक्ति झल्किनुपर्ने स्थानमा असहजता र अशान्ति ल्याएको थियो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्दिरको पवित्रता भंग भएको बताए । उनले भने, “जानकी मन्दिर केवल ईंट र ढुंगाको संरचना मात्र नभई यो जनकपुरवासीको आत्मा हो । यहाँ भक्ति, शान्ति र मर्यादा रहनु पर्छ, बारुद र पटाकाको आवाज होइन । मन्दिरको पवित्रता भंग गर्ने यस्तो कार्य अत्यन्त निन्दनीय र दुःखदायक छ ।”
महन्त दासका अनुसार पछिल्ला वर्षहरूमा दीपावलीको रातमा मन्दिर परिसरभित्र युवाहरूको भीड, पटाका पड्काउने, नाचगान र फोटोसेसन गर्ने प्रवृत्ति बढ्दै गएको छ । उनले पटक–पटक आग्रह गर्दा पनि केही युवाहरूले बेवास्ता गरेकोमा चिन्ता व्यक्त गरे । “यो हाम्रो धर्म, संस्कार र परम्पराविपरीत हो र यसले सम्पूर्ण मिथिलाको छविमाथि नै दाग लगाइरहेको छ,” महन्त दासले भने ।
उनले थपे, “जानकी मन्दिर मिथिलाको हृदय हो । यहाँ भजन, आरती र शान्तिको स्वर गुन्जिनु पर्छ, पटाका र हल्ला होइन ।” उनले ठूलो आवाज र आतिशवाजीले मन्दिरभित्र रहेका साधुसन्तहरू त्रसित बनेकोसमेत जानकारी दिए ।
महन्त दासले सबैलाई मिलेर मन्दिरको पवित्रता जोगाउन अपील गर्दै भने, “मिथिलाको संस्कृति सौम्यता, भक्ति र मर्यादामा टेकेको छ । पटाका र धुवाँले नभई दीप र भजनले नै जनकपुरधाम उज्यालो बनोस् ।” सामाजिक सञ्जालहरूमा पनि मन्दिरभित्रको यो अवस्थाले व्यापक आलोचना र प्रतिक्रिया पाइरहेको छ ।
















