Logo

६ कात्तिक,वीरगञ्ज । दिपावली सकिएसँगै तराई–मधेस क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। कार्तिक शुक्ल पक्षको चतुर्थीदेखि सप्तमीसम्म मनाइने चारदिने यो पर्व यस वर्ष कार्तिक १० र ११ गते पर्नेछ। भोजपुरी र मैथिली भाषी हिन्दू समुदायको प्रमुख धार्मिक पर्वका रूपमा छठ पूजा मनाइन्छ।

छठ पूजाका लागि आवश्यक पूजन सामग्री, भाँडावर्तन, कपडा–लत्ता र फलफूलजस्ता वस्तुहरूको किनमेल अहिले नै सुरु भइसकेको छ। बजारहरूमा भीडभाड बढ्दै गएको छ भने नदी, तलाउ र पोखरीछेउका छठीघाटहरूमा सरसफाइ र सजावटको काम तीव्र गतिमा भइरहेको छ।

छठको मुख्य दिन षष्ठीका साँझ अस्ताउँदो सूर्य र सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा छ। यसका लागि वीरगन्जका घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, छपकैया पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा, अलौं लगायतका स्थानमा रहेका जलाशयहरूलाई आकर्षक टेन्ट, पण्डाल र बत्तीले झिलिमिली बनाउने काम भइरहेको छ।

छठीघाटको सजावटमा स्थानीय समितिहरूले लाखौं रुपैयाँ खर्च गर्दै आएका छन्। वीरगन्जको प्रसिद्ध घडीअर्वा पोखरी पार्कमा मात्र यस वर्ष करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए। उनका अनुसार टेन्ट र सजावटका लागि भारतबाटै दक्ष कारिगरहरू ल्याइएका छन्।

बजारमा पूजन सामग्री, बस्त्र, तेल, मसला र फलफूल किन्नेको भीड बढ्दै गएको छ। बाराको मुसहर्वाकी सुगान्धी देवीले अहिले नै पूजन सामग्री किनेर राख्दा सस्तो पर्ने र अन्तिम समयमा धपेडी नहुने बताइन्।

छठ पर्वमा नयाँ लुगा लगाउने चलन भएकाले कपडा पसल र डिपार्टमेन्ट स्टोरहरूमा पनि ग्राहकको भीड बढेको छ। घण्टाघरस्थित एस.के. ट्रेडर्सका सञ्चालक हरिओम गुप्ताले भने, “दशैं र तिहारभन्दा छठमा व्यापार अझै राम्रो हुने गर्छ।”

तराई–मधेसका सहरहरू अहिले छठको रौनकले उज्यालो बनेका छन्, र भक्तजनहरू हर्ष र उमङ्गका साथ सूर्य आराधनाको तयारीमा जुटेका छन्।


सम्बन्धित समाचार
भर्खरै