७ कात्तिक,वीरगञ्ज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइरहेको नौ लाख १४ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
सिम्रौनगढ नगरपालिका–९ झरोखर ईलाकामा बि.ओ.पि. गोलागंजबाट खटिएको गस्ती टोलिले दुई वटा मोटरसाइकलसहित ५६ हजार ७३० रुपैयाँ मूल्य बराबरको किराना सामान र मोटरसाइकल चार लाख ६ हजार ७३० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ।
त्यसैगरी देवताल गाउँपालिका–२ पसाहा खोला ईलाकामा मोटरसाइकल गस्ती टोलिले कपडा, चप्पल र मोटरसाइकल गरी तीन लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। पचरौता नगरपालिका–३ रामनगर वैरिया, कलैया–१० मटिअर्वा र फेटा गाउँपालिका–४ बतरा फेटा जाने बाटोमा पनि सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याइरहेको कपडा, मोटरसाइकल र अन्य सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा उपरीक्षक खुमबहादुर के.सी.का अनुसार सबै बरामद सामान वीरगञ्ज भन्सार कार्यालय बुझाइने छ।
















