Logo

७ कात्तिक,वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिकाले बिदाको दिनको परवाह नगरी निरन्तर सेवा प्रदान गर्दै सहरलाई अझ उज्यालो, सुरक्षित र आधुनिक बनाउनका कामलाई तीव्रता दिएको छ।

महानगरका अनुसार, वार्ड नं. १ देखि ३२ सम्मका विभिन्न चोक र गल्लीहरूमा विद्युत् सुधार, मर्मत तथा व्यवस्थापनका कार्यहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।

यो अभियान मेयर राजेशमान सिंहको ‘ऊर्जावान र सुन्दर वीरगञ्ज’ बनाउने दृढ संकल्प अन्तर्गत अघि बढाइएको हो। सिंहले सहरलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित विद्युत् पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेका छन्।

इञ्जिनियर राजीव उपाध्यायको नेतृत्वमा प्राविधिक टोलीले बिदाका दिन समेत निरन्तर मेहेनत गर्दै सडक बत्ती मर्मत, नयाँ बत्ती जडान र वायरिङ व्यवस्थापनका कामहरू अगाडि बढाइरहेको महानगरले जनाएको छ।

महानगरपालिकाका अधिकारीहरूका अनुसार, छठ पर्वमा भीडभाड हुने स्थलहरू — घाट, बजार क्षेत्र र मुख्य सडकहरूमा पर्याप्त प्रकाश व्यवस्था मिलाइनेछ, जसले नागरिकहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले पनि महानगरको सक्रियता र निरन्तर सेवा भावको प्रशंसा गर्दै यसलाई “सकारात्मक परिवर्तनको संकेत” बताएका छन्।


सम्बन्धित समाचार