७ कात्तिक,काठमाडौं । जानकी गाउँपालिका–५ पथरैया गुजरुवामा नहरमा डुबेर तीन बालिकाको ज्यान गएको छ। घटना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कुलरिया नहरमा भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीका अनुसार, टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याहा दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ की सुलोचना तिमिल्सैना नुहाउने क्रममा डुबेका थिए।
निशा र मानुषी टीकापुरको जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा अध्ययनरत थिए भने सुलोचना जानकी गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिइन्।
डीएसपी डाँगीका अनुसार, निशा र मानुषीको परिवार आन्तरिक कामको लागि बाहिर गएको समयमा बालिकाहरू नहरमा नुहाउन गएको र डुबेर मृत्यु भएको हो। तीनै बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
प्रहरीले स्थानीयलाई बालबालिकालाई नहर वा खोलामा एक्लै नजान दिन सचेत गराएको छ।
















