Logo

८ कार्तिक, वीरगञ्ज । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यस्थित सतारा जिल्लामा कार्यरत एक महिला चिकित्सकले आत्महत्या गरेकी घटनाले यतिबेला राज्यभर सनसनी मच्चाएको छ।

फलटण उप-जिल्ला अस्पतालमा कार्यरत २८ वर्षीया डा. सम्पदा मुंडेले आत्महत्या गर्नुअघि आफ्नै हातमा लेखिएको सुसाइड नोटमार्फत दुई प्रहरी अधिकारीमाथि बलात्कार र मानसिक उत्पीडनको गम्भीर आरोप लगाएकी छिन्। यो घटनाले प्रहरी प्रशासनको अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

हातमा लेखिएको सुसाइड नोटले खोल्यो रहस्य

डा. मुंडेको शव विहीबार राति भेटिएपछि प्रहरीले उनको हातमा लेखिएको सुसाइड नोट बरामद गरेको थियो । नोटमा उनले स्पष्ट रूपमा लेखेकी थिइन्, “पिएसआई गोपाल बदने नै मेरो मृत्युको कारण हुन्। उनले पाँच महिनादेखि बारम्बार मेरो बलात्कार गरे। प्रशांत बनकरले मानसिक र शारीरिक यातना दियो। म यो पीडाबाट थाकिसकेकी छु।”

सुसाइड नोटमा उल्लेख भएअनुसार, फलटण प्रहरी चौकीमा कार्यरत प्रहरी सब-इन्स्पेक्टर (पिएसआई) गोपाल बदनेले विगत पाँच महिनादेखि निरन्तर रूपमा उनको बलात्कार गर्दै आएका थिए। त्यस्तै, प्रशांत बनकर नामका अर्का व्यक्तिले पनि उनलाई लगातार मानसिक तथा शारीरिक रूपमा यातना दिएको आरोप लगाइएको छ। यो मर्मस्पर्शी सन्देश सार्वजनिक भएलगत्तै प्रहरी प्रशासन र स्वास्थ्य क्षेत्रमा ठूलो खलबली मच्चिएको छ।

आत्महत्याअघि पनि दिइएको थियो उजुरी, कारबाहीमा ढिलाइको आरोप

स्थानीय प्रशासनका अनुसार, डा. मुंडेले आत्महत्याअघि गत असार १९ गते (१९ जुन) मा नै सतारा उप-विभागीय प्रहरी अधिकारी (डीएसपी) लाई पत्र लेखेर आफ्नो पीडा बताएकी थिइन्। उनले पत्रमा फलटण प्रहरी कार्यालयका तीन प्रहरी अधिकारीहरू- गोपाल बदने, डीएसपी पाटिल र एएसआई लाडपुत्रे माथि उत्पीडनको गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेकी थिइन्।

तर, पीडित परिवार र सहकर्मीहरूले उजुरीका बावजुद पनि समयमै कुनै प्रभावकारी कारबाही नगरिएको आरोप लगाएका छन्। मृतकका आफन्तले प्रहरी र केही राजनीतिक व्यक्तिहरूबाट डा. मुंडेमाथि पोस्टमार्टम रिपोर्टमा हेरफेर गर्न दबाब दिइएको समेत गम्भीर दाबी गरेका छन्।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सतारा प्रहरी प्रमुख तुषार दोशीले पत्रकारहरूसँग कुरा गर्दै दुई व्यक्तिमाथि बलात्कार र आत्महत्यामा उक्साउने आरोपमा एफआईआर दर्ता गरिएको जानकारी दिएका छन्। आरोपी पिएसआई गोपाल बदनेलाई तत्काल निलम्बन गरिएको छ र दुबै अभियुक्तको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले पनि घटनाबारे सतारा प्रहरीसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल कारबाहीका लागि निर्देशन दिएका छन्। उनले भनेका छन्, “दोषी जोसुकै होस्, कुनै पनि हालतमा बच्नु भएन।”

महिला आयोगको सक्रियता

महाराष्ट्र महिला आयोगकी अध्यक्ष रूपाली चाकणकरले घटनाप्रति आक्रोश व्यक्त गर्दै ‘यो अत्यन्त निन्दनीय र शर्मनाक’ भएको बताएकी छिन्। प्रहरीजस्तो जिम्मेवार निकायका सदस्यबाट यस्तो अपराध हुनु समाजका लागि कलङ्क भएको भन्दै उनले आयोगले घटनाको प्रत्यक्ष अनुगमन गरिरहेको र फरार दुई आरोपीको खोजीका लागि दुई विशेष टोली खटाइएको जानकारी दिएकी छिन्।

न्यायको माग गर्दै विरोध प्रदर्शन

डा. मुंडेको आत्महत्यापछि सतारा र फलटण क्षेत्रमा चिकित्सक संघ, महिला अधिकारकर्मी र नागरिक समाजले चर्को विरोध जनाएका छन्। उनीहरूले दोषीहरूलाई कडाभन्दा कडा सजाय र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।

राज्यभरबाट ‘रक्षक नै भक्षक बनेका छन्’ भन्ने आवाज उठिरहेको छ, जसले प्रहरी संगठनभित्र आत्मसमीक्षा र सुधारको मागलाई बल पुर्‍याएको छ। डा. सम्पदा मुंडेको आत्महत्या प्रकरणले महाराष्ट्रको प्रणालीगत संवेदनशीलता र उत्तरदायित्वको अभावलाई उजागर गरेको छ, जसको उच्चस्तरीय अनुसन्धानका लागि राज्य सरकारले टोली गठन गरी छानबिन तीव्र बनाएको जनाएको छ। सम्पूर्ण महाराष्ट्र अहिले डा. मुंडेलाई न्याय दिलाउन एकजुट भएको छ।


सम्बन्धित समाचार