Logo

८ कात्तिक,काठमाडौं । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मानिने समाचकेवा पर्व सुरु भएको छ।यो पर्व भाइटीकाको दिनदेखि सुरु भई १५ दिनसम्म मनाइन्छ। कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ गरी समाचकेवालाई बिसर्जन गरेपछि पर्वको समापन गरिन्छ।

थारू संस्कृतिविद् भुलाइ चौधरीका अनुसार समाचकेवा पर्व थारू समुदायको इतिहास, सभ्यता र पहिचान बोकेको सांस्कृतिक गाथा हो। उनले भने, “यो पर्वले थारू समाजको यथार्थ चित्रण गर्छ र दिदी–भाइबीचको प्रेम, माया र बन्धनको प्रतीक हो।” उनका अनुसार यो पर्व करिब दुई हजार वर्ष पुरानो गरभा राजा र किसनभूषण सेनको यथार्थ कथामा आधारित छ, जसमा राजाले जालझेलका कारण आफ्नी छोरी समालाई वनबास दिएपछि भाइसँगको वियोगको कथा समेटिएको छ।

यस पर्वमा दिदीबहिनीहरूले हरेक साँझ गीत गाएर दाजुभाइको दीर्घायू र सुख–समृद्धिको कामना गर्दै ‘समा खेल्ने’ परम्परा निभाउँछन्। यस क्रममा समाजमा चुगली गर्नेको प्रतीकस्वरूप “चुगलाको जुँगा डढाउने” परम्परा पनि पालना गरिन्छ।

हाल वर्षेनी थारू मात्र होइन, तराईका अन्य जातिहरूले पनि थारू संस्कृति अंगाल्दै समाचकेवा पर्व मनाउन थालेका छन्। पूर्णिमाको भोलिपल्ट दिदीबहिनीहरूले समाचकेवालाई दही, चिउरा र अन्य परिकार खुवाएर नजिकैको पोखरी, दह वा नदीमा सेलाएर पर्वको बिदाइ गर्दछन्।

समाचकेवा पर्वले दिदीभाइबीचको आत्मीयता, समाजमा सहअस्तित्व र संस्कृतिको निरन्तरता झल्काउने विश्वास गरिन्छ।


सम्बन्धित समाचार
भर्खरै