८ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्य रूपमा मनाउनका लागि उपत्यकाभित्र आठ वटा स्थानमा विशेष व्यवस्था गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले हरेक वर्षझैं यस वर्ष पनि भक्तजनहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै आठ स्थानमा छठ पर्व मनाउने तयारी गरिएको जानकारी दिए।
उनका अनुसार छठ पर्व मनाउनका लागि कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडिको क्षेत्र, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा व्यवस्थापन गरिएको छ।
महानगरले ती स्थानहरूमा विगत केही दिनदेखि विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। प्रहरी प्रमुख पाण्डेले भक्तजनहरूलाई कुनै समस्या परे महानगरसँग सम्पर्क गर्न आग्रह गर्दै, उक्त स्थलहरूमा सवारी साधन पार्किङ नगर्न अनुरोध गरे।
छठ पर्वका लागि तोकिएका स्थलहरूमा करिब ३५० सरसफाइकर्मी र महानगर प्रहरी परिचालन गरिएको पाण्डेले बताए। उनले थपे, “छठ घाटका लागि तोकिएका स्थानमा भक्तजनसँग कुनै पनि किसिमको शुल्क असुल्न नपाइने व्यवस्था गरिएको छ।”
तराई क्षेत्रमा प्रमुख रूपमा मनाइने छठ पर्व अहिले राजधानीसहित हिमाल र पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। नदी, तालतलैया र पोखरीका किनारमा सजाइएका छठ घाटहरूमा भक्तजनहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा र उल्लासका साथ पर्व मनाउने परम्परा रहेको छ।
















