८ कात्तिक,वीरगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा कार्तिक ८ गते शनिबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर बिजय सरावगी रहेका थिए।
ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा वडा नं.–१६ नगवाका अध्यक्ष बिश्वनाथ प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र कानुले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार र जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकहरूको अतुलनीय योगदानको प्रशंसा गर्दै समाजमा उनीहरूको अनुभव र मार्गदर्शनले नयाँ पुस्तालाई सधैं प्रेरणा दिने बताएका थिए। यस प्रकारको कार्यक्रम पर्सा जिल्लामा पहिलो पटक आयोजना भएको दाबी गर्दै वक्ताहरूले यसलाई आगामी वर्षहरूमा अझै व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा उपस्थित ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्दै छठ पर्वको मंगलमय शुभकामना आदान–प्रदान गरिएको थियो। अतिथिहरूले छठ पर्वले समाजमा आस्था, एकता र सद्भाव बढाउने महत्वपूर्ण सन्देश दिएको बताएका थिए।
कार्यक्रममा सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
















