Logo

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी गरेकी छन् ।

आजै चार जना नयाँ अनुहारले मन्त्री पदको शपथ लिँदैछन् । यसपटक सरकारले विशुद्ध प्राविधिक ज्ञान, सामाजिक सक्रियता र अधिकारकर्मी पृष्ठभूमिका व्यक्तित्वहरूलाई समेट्ने तयारी गरेको छ । सरकारमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपति लाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री कार्कीले यी नामहरू राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले पुष्टि गरेको छ । उनीहरुको सपथ दिउँसो साँढे २ बजेको लागि तय भएको छ । मन्त्री बन्न लागेका यी चारै जना आ–आफ्नो क्षेत्रमा स्थापित र प्रभावशाली व्यक्तित्व हुन् ।

डा. सुधा शर्मा गौतम स्वास्थ्य मन्त्रालयको पूर्व सचिव तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । चर्चामा आएकी अर्की सम्भावित उम्मेदवार, पूर्व अतिरिक्त सचिव संगीता कौशल मिश्रामाथि भ्रष्टाचार अनुसन्धान चलिरहेकाले प्रधानमन्त्रीले अनुभवी डा. गौतमलाई रोजेकी हुन् । यस्तै, गणपति लाल श्रेष्ठ सम्पदा संरक्षण अभियानका अभियान्ता हुन् । रानीपोखरी र बसन्तपुर दरबार क्षेत्र जस्ता महत्वपूर्ण सम्पदाको संरक्षणमा उनको भूमिका सराहनीय छ ।

खगेन्द्र सुनार दलित अधिकारकर्मीको रूपमा परिचित छन् । संवैधानिक र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्वको माग गर्दै उनले नेल लगाएर काठमाडौँमा प्रदर्शन गरेका थिए । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्याको घटनापछि रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयको गेटमा भोक हडताल र अदालतको गेटमा १० दिनसम्म धर्ना दिएर उनले अधिकारका लागि गरेको संघर्षलाई नेतृत्वमा ल्याइएको छ ।
बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय छन् ।


सम्बन्धित समाचार