९ कात्र्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज गर्न लागेको मन्त्रिपरिषद् विस्तारमा मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लागेको छ ।
यद्यपि, प्रस्तावित मन्त्रीहरूमध्ये गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । सम्पदा संरक्षण अभियन्ता श्रेष्ठलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी थियो । तर, प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पठाइएको अन्तिम नामावलीमा उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि यो मन्त्रालय अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए । बाँकी तीन मन्त्रीहरूको जिम्मेवारी भने यथावत् रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा थपिन लागेका यी चारै जना मन्त्रीहरूको शपथ ग्रहण समारोह आज दिउँसो साढे २ बजे हुने तय भएको छ ।
















