९ कात्तिक, काठमाडौं । तिहार पर्व सकिएसँगै नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटाएको छ ।
आइतबार महासंघले सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको थियो । सार्वजनिक बिदाका कारण तिहारपछि आज मात्र मूल्य समायोजन गरिएकाले एकैपटक ठूलो गिरावट देखिएको हो । अघिल्लो महिना असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो । अहिलेको गिरावटले उपभोक्तालाई ठूलो राहत दिएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव
नेपाली बजारमा यो भारी गिरावट आउनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन हो । कात्तिक ४ गते नै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ करिब ५ प्रतिशतले घटेको थियो । असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४१११ डलरमा झरेको छ । नेपालमा भने बिदाका कारण मूल्य समायोजन हुन सकेको थिएन ।
चाँदीमा पनि ठूलो गिरावट
सुनसँगै चाँदीको भाउमा पनि उल्लेखनीय गिरावट आएको छ । चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँले घटेको छ । चाँदीको भाउ आज प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।

















