९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न उठाउँदै कारण देखाउ आदेश जारी गरेको छ ।
राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएपछि न्यायाधीश विनोद शर्माको इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई २० कात्तिकभित्र फिर्ता हुन निर्देशन दिएको थियो ।
फिर्ता बोलाइएका राजदूतहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि आवासीय नेपाली राजदूतहरू समावेश छन् । अब सरकारले अदालतमा आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने भएको छ ।
















