१२ कात्तिक,जनकपुर ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि एक युवक मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार मृतकको पहिचान सोही नगरपालिका–५ का ३५ वर्षीय आजिम कवारीका रूपमा गरिएको छ।
बिहान सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको प्रकृति प्रारम्भिक रूपमा स्पष्ट नभएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ।
प्रहरीले घटनाको कारण पत्ता लगाउन घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गर्न थालेको बताइएको छ।
















