Logo

१२ कात्र्तिक, काठमाडौं । देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि हासिल गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार, यो अवधिमा वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको असोजसम्म आयातको मात्रामा ३४ अर्ब २३ करोड रुपैयाँले वृद्धि भएको छ । गत वर्षको तीन महिनामा १ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो । यसपटक २ खर्ब १८ अर्ब १० करोड रुपैयाँको सामान आयात हुँदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व समेत सङ्कलन भएको छ ।

निर्यात १७ अर्ब ७५ करोड बढी

आयातसँगै निर्याततर्फ पनि वीरगञ्ज नाकाले उल्लेखनीय प्रगति देखाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा यो नाका हुँदै २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसको अर्थ रकमका आधारमा गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा १७ अर्ब ७५ करोड रुपैयाँ बढीले निर्यात भएको छ, जसले व्यापार सन्तुलनमा केही सकारात्मक संकेत दिएको छ ।


सम्बन्धित समाचार