Logo

१२ कात्र्तिक, काठमाडौं । नेपाल र भारतबीच ऊर्जा व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ ४०० केभीका दुईवटा अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि महत्त्वपूर्ण कदम चालिएको छ ।

इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली प्रसारणलाइन निर्माणका लागि संयुक्त उपक्रम र सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितिमा यो सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।

क्षेत्रीय विद्युत व्यापारको कोशेढुङ्गा

मन्त्री घिसिङले यी दुई अतिरिक्त क्रस बोर्डर प्रसारणलाइन निर्माण कार्य अगाडि बढ्नुलाई द्विपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो । उहाँले यसले नेपालमा उत्पादित विद्युतलाई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म पुर्‍याउने र जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय विद्युतमन्त्री खट्ठरले पनि यी लाइनहरूले क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार ल्याई दुवै देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने धारणा राखेका छन् ।

लगानी र सेयर संरचना

मन्त्रिपरिषद्को निर्णयबमोजिम यी प्रसारणलाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिडको लगानीमा दुईवटा संयुक्त कम्पनी स्थापना गरिनेछ, जसको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पुँजीमा आधारित हुनेछ। नेपाली खण्डको कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ । भारतीय खण्डको कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ ।
नेपाल र भारत दुवैतर्फ संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणले क्रमशः १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ ।

यी दुवै प्रसारणलाइनको निर्माण सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल नेपाल र भारतबीच ४०० केभीको ढल्केबर–मुजफ्फपुर प्रसारणलाइन सञ्चालनमा छ भने बुटवल—गोरखपुर लाइन निर्माणाधीन अवस्थामा रहेको छ ।


सम्बन्धित समाचार