Logo

काठमाडौं । साइबर कसूरको आरोपमा लामो समयदेखि फरार सूचीमा रहेका खगेन्द्र सुनारले अन्ततः जिल्ला अदालत काभ्रेपलाञ्चोकमा आत्मसमर्पण गरेका छन् ।

विद्युतीय कारोबार ऐन, अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द प्रयोग गरेको आरोप लागेका सुनार बिहीबार बिहान अदालतमा स्वयं उपस्थित भएका हुन् । सुनार उपस्थित हुने बित्तिकै न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान लिने प्रक्रिया सुरु भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले बताएकी छन् ।

गालीगलौजको मुद्धा

अधिवक्ता मनीषा गौतमले सुनारविरुद्ध फेसबुकमा अपशब्दसहितको स्टाटस लेखेको र सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले उक्त मुद्दा त्यहाँको जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । प्रहरीले सुनारलाई तोकिएको समयसीमाभित्र पक्राउ गर्न नसकेपछि गत साउन २ गते उनलाई फरार अभियुक्तका रूपमा राखेरै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले साउन ५ गते पक्राउ पुर्जी जारी गर्दै उनको स्थायी ठेगाना दैलेखसम्म पुर्जी पठाएको भए पनि सुनार हालसम्म पक्राउ परेका थिएनन् ।

आजै थुनछेक बहस

लामो समय फरार भएपछि अहिले आफैँ अदालतमा हाजिर भएका सुनारको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ । यस बहसबाट न्यायाधीशले सुनारलाई थुनामै राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश दिनेछन् । अदालतको यो आदेशले साइबर कसूरका अभियुक्तमाथि गरिने कारबाहीको दिशा तय गर्नेछ । प्रधानमन्त्री सुशीला कार्कीले केही दिन अघि मन्त्रीपरिषद विस्तार गर्ने क्रममा सुनारलाई मन्त्री बनाउन सिफारिस गरेपनि विवादपछि नाम फिर्ता गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरिएपछि सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य बाहिरिएसँगै उनको सपथ रोकिएको थियो ।


सम्बन्धित समाचार