Logo

१४ कार्तिक, जनकपुर । भारतका विभिन्न स्थानबाट १६ जना नेपाली बालबालिकाको उद्धार गरी विहीबार जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका ती बालबालिका मानव तस्करी र श्रम शोषणको जोखिममा परेका अवस्थामा उद्धार गरिएका हुन् । उनीहरूलाई भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न शहरहरूमा पुर्‍याइएको थियो । भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उनीहरूलाई सुरक्षितरूपमा उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूका अभिभावकको जिम्मा लगाइएको छ। सो अवसरमा राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले उद्धार गरिएका बालबालिकाको उमेर ९ देखि २२ वर्षसम्म रहेको जानकारी दिए ।

महतोका अनुसार तीमध्ये केही बालबालिका घरेलु कामदारका रूपमा भारत पुगेका थिए भने केहीलाई रोजगारीका नाममा सीमापार लगिएको थियो । उद्धारपछि उनीहरूलाई परामर्श र मनोसामाजिक सहयोग प्रदान गरिएको छ ।

यसैबीच, ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहकार्यमा थप दुई नेपाली बालिकाको पनि उद्धार गरेको छ । ती बालिकाहरूलाई बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ ।

अधिकृतहरूले मानव तस्करी तथा बालश्रमविरुद्ध निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै बालबालिकाको सुरक्षाका लागि सीमा क्षेत्रमा निगरानी र जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै