Logo

१९ कार्तिक, काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि इच्छुक उद्यमीहरूबाट परियोजना प्रस्ताव आह्वान गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज सूचना प्रकाशित गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीहरूलाई आवेदन दिन आह्वान गरेको हो।

प्रतिष्ठानका अनुसार कार्यविधिको दफा ४ मा उल्लेख गरिएका योग्यता पूरा गर्ने उद्यमीहरू मात्र आवेदन दिन सक्नेछन्। आवेदकमा सम्बन्धित क्षेत्रमा नवीन सोच, ज्ञान, सीप र कार्यान्वयन क्षमता हुनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक उद्यमीहरूले आज मितिदेखि २१ दिनभित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव तयार गरी अनलाइनमार्फत आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अघि सारेको कार्ययोजना अनुसार माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको थियो। सोही तयारी अन्तर्गत प्रतिष्ठानले आवेदन आह्वान गरेको हो।

सरकारले देशभरका युवा उद्यमीहरूलाई व्यवसायिक नवप्रवर्तनमा प्रोत्साहन गर्न र रोजगारी सृजना विस्तार गर्ने उद्देश्यसहित स्टार्टअप उद्यम कर्जा कार्यक्रम अघि सारेको हो।

प्रतिष्ठानका अनुसार छनोटमा पारदर्शिता र प्रतिस्पर्धात्मक मूल्यांकन प्रणाली अपनाइनेछ। छनोट भएका उद्यमीहरूलाई परियोजनाको प्रकार र दायरा अनुसार कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ।


सम्बन्धित समाचार