२४ कात्तिक,काठमाडौं । उत्तरपूर्वी नाइजेरियाको लेक चाड क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी)बीच आइतबारदेखि सुरु भएको झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ।
घटनाबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका छन्। झडप चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा भएको हो। दुवै समूहबीच लामो समयदेखि वैचारिक मतभेद रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको थियो।
नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले बताएअनुसार, ‘हामीले प्राप्त गरेको विवरणअनुसार झडपमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन्।’
त्यस्तै, बोको हरामका पूर्व लडाकू सादिकुका अनुसार झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिएका र ठूलो मात्रामा हतियार जफत गरिएको छ। बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमाएको सादिकुले बताए।
सन् २०१६ मा आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि दुवै समूहबीच वैचारिक मतभेद सुरु भएको थियो। त्यसयता चाड ताल क्षेत्रको नियन्त्रणका लागि धेरै पटक रक्तपातपूर्ण संघर्ष भइरहेका छन्।
लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र मानिन्छ। स्थानीय बासिन्दाहरूका अनुसार झडपपछि धेरै शवहरू अझै दलदली भागमा फेला परिरहेका छन् र बाँकी बाँचेकाहरू वरपरका गाउँहरूमा भागेका छन्। सुरक्षाकर्मीहरूले युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेका छन्।
यस घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षा अवस्था फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको र लाखौँलाई विस्थापित पारेको छ।

















