१२ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारणदेखि सुरक्षा व्यवस्थासम्मका तयारी तीव्र बनेका छन्। नयाँ मतदाता उल्लेख्य रूपमा थपिएकाले एकीकृत सुरक्षा योजनामा समावेश एक लाख ३२ हजार म्यादी प्रहरीको प्रारम्भिक अनुमानित संख्या बढाउनुपर्ने आवश्यकता देखिएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाका काममा नेपाल प्रहरीले छिट्टै म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए। उनका अनुसार नयाँ मतदाताको आधारमा सुरक्षा आवश्यकता बढ्ने भएकाले म्यादी प्रहरी संख्या पनि सोअनुसार परिवर्तन हुन सक्छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एआईजी अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्रको अन्तिम सूची पठाएपछि जिल्ला सुरक्षा समितिहरूले सुरक्षाको संवेदनशीलता मूल्यांकन गर्दै म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने बताए।
चुनावका लागि खटिने म्यादी प्रहरी ४० दिन कार्यरत रहनेछन्। उनीहरूले प्रहरी जवानले पाउने सरह आधारभूत तलब, पोसाक, यातायात खर्चलगायत सुविधा प्राप्त गर्नेछन्। यसपालि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी स्थायी प्रहरी परिचालन गर्ने तयारी गरेको छ।
२०७९ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। त्यतिबेला १० हजार ८९२ मतदान स्थलभित्र २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए। यसपटक भने ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्, जसअनुसार मतदान केन्द्र र सुरक्षा व्यवस्थाको तयारी परिमार्जन हुँदैछ।

















