Logo

१७ पुष, काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाइरहँदा काठमाडौँको माइतीघर मण्डलामा भने फरक र समावेशी दृश्य देखिएको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘धोती–टोपी एक हौँ’ भन्ने मूल मर्मका साथ सामूहिक रूपमा धोती लगाएर यो दिवस मनाएका हुन् । तराई र पहाडबीचको सांस्कृतिक एकतालाई जोड दिँदै उनीहरूले राष्ट्रिय पोसाकको परिभाषालाई व्यापक बनाउनुपर्ने सन्देश दिएका छन् ।

पार्टीले विशेषगरी मधेसी समुदाय र उनीहरूको पहिरनमाथि हुने गरेको विभेद तथा दुर्व्यवहारको सांकेतिक विरोध स्वरूप यो अभियान चलाएको जनाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले शिरमा नेपाली टोपी र जिउमा धोती लगाएर तराई र पहाडको साझा पहिचानलाई प्रदर्शन गरेका थिए । उनीहरूले ‘धोती र टोपी दुवै हाम्रो गौरव’ भएको बताउँदै कुनै एक पहिरनलाई मात्र राष्ट्रियताको कसीमा नराखी सबै समुदायको मौलिक पोसाकलाई उत्तिकै सम्मान गरिनुपर्ने माग राखेका छन् ।

माइतीघरमा भेला भएका जनमतका कार्यकर्ताहरूले ‘तराई–पहाड एक हौँ’ को नारा लगाउँदै राष्ट्रिय एकताका लागि सबै भूगोल र संस्कृतिको सम्मान अनिवार्य रहेको उल्लेख गरे । दिवसका अवसरमा धोती जुलुस नै निकालेर उनीहरूले राज्यका हरेक अंग र राष्ट्रिय दिवसहरूमा विविधताको प्रतिबिम्ब देखिनुपर्ने कुरामा जोड दिएका छन् । यो कार्यक्रमले पोसाकका आधारमा गरिने विभेद अन्त्य हुनुपर्ने र नेपाली पहिचानभित्र सबैको अपनत्व हुनुपर्ने सन्देश प्रवाह गरेको छ ।


सम्बन्धित समाचार