Logo

१७ पुष, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा जिल्लागत प्रतिनिधित्वको असन्तुलन देखिएको छ ।

कुल ११० जना उम्मेदवारको नामावली बुझाएको एमालेले देशका ५६ जिल्लालाई मात्र समेटेको छ भने २१ वटा जिल्लालाई उम्मेदवारविहीन बनाएको छ । पहाडी जिल्लाहरू मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, गोरखा, बागलुङदेखि सुदूरपश्चिमका बैतडी र डडेल्धुरासम्मका भूगोलबाट एमालेको समानुपातिक सूचीमा कुनै पनि उम्मेदवार अटाउन सकेका छैनन् । यो सूचीमा कर्णालीका डोल्पा र जुम्ला जस्ता दुर्गम जिल्लाहरूसँगै बाजुरा र डोटीको प्रतिनिधित्व पनि शून्य देखिएको छ ।

एकतिर २१ जिल्ला उम्मेदवारविहीन हुँदा अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको भने सूचीमा भारी वर्चस्व देखिएको छ। झापाबाट मात्रै विभिन्न क्लस्टरका गरी ९ जना उम्मेदवारहरूले बन्दसूचीमा स्थान पाएका छन् । जसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले, लता प्रसाईं, निता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना शाह महतो रहेका छन् । भूगोलका आधारमा समावेशी नभएको भन्दै राजनीतिक वृत्तमा यो सूचीको चर्चा भइरहँदा, निर्वाचन आयोगले भने क्लस्टर र कानुनी प्रक्रिया बमोजिम नामहरू मिले÷नमिलेको छानबिन गरिरहेको छ ।

आयोगको कार्यतालिका अनुसार पुस २० गतेसम्म सूचीको अध्ययन गरी त्रुटि पाइएमा दलहरूलाई सच्याउन पत्राचार गरिनेछ । दलहरूले पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् भने माघ २० गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने प्रावधान छ। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भए पनि अहिले समानुपातिक सूचीमा देखिएको जिल्लागत शून्यता र झापाको एकलौटी उपस्थितिले एमालेभित्र र बाहिर विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।


सम्बन्धित समाचार