Logo

१७ पुष, काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद (हिँडडुलमा प्रतिबन्ध) अन्ततः फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गते देशभर चर्किएको ‘जेनजी’ आन्दोलनका क्रममा गृहमन्त्रीको जिम्मेवारीमा रहनुभएका लेखकमाथि सो घटनाको सत्यतथ्य छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धानका लागि स्थान हद लगाएको थियो । बुधबार साँझ आयोगले उहाँसँग पूरक बयान लिएसँगै सो प्रतिबन्ध हटाउने निर्णय गरेको हो, जसले पूर्वगृहमन्त्री लेखकलाई ठूलो राहत मिलेको छ ।

आयोगले यसअघि नै लेखकसँग दुई पटक विस्तृत सोधपुछ गरिसकेको थियो । अनुसन्धानको प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रमाण नष्ट गर्न वा प्रभाव पार्न नदिनका लागि लगाइने यस्तो कानुनी घेरा बयान र प्रमाण संकलनको कार्य पुरा भएपछि हटाइएको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले बुधबार ढिलोसम्म बयान लिएर अनुसन्धानको एउटा महत्वपूर्ण पाटो टुङ्गिएको संकेत गरेको छ ।

यो फुकुवासँगै अब लेखकलाई राजनीतिक गतिविधि र हिँडडुलमा रहेको बाधा हटेको छ । जेनजी आन्दोलनका क्रममा भएका मानवीय क्षति र सुरक्षा लापर्बाहीबारे आयोगले गृहमन्त्री मात्र नभई अन्य उच्च पदस्थ अधिकारीहरूमाथि पनि यस्तै किसिमको निगरानी राखेको थियो ।


सम्बन्धित समाचार