Logo

२० पौष, सेढवा (पर्सा) । मधेश प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई शनिबार उनको गृह पालिका जिराभवानी गाउँपालिकामा भव्य रूपमा स्वागत गरिएको छ ।

जिराभवानी गाउँपालिका-३ स्थित नौकाटोला चोकमा आयोजित स्वागत कार्यक्रममा वडाध्यक्ष सुरज राय थारुको सभापतित्वमा मन्त्री चौधरीलाई खादा, माला तथा टीका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनताको मत र विश्वासकै आधारमा आफू मन्त्री बनेको उल्लेख गर्दै जनताको हितलाई केन्द्रमा राखी भ्रष्टाचारमुक्त ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिन आग्रह पनि गरे । लोकतन्त्र, संघीयता र समावेशी विकासको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्षहरू राजेश्वर दास थारु, दारा सिंह राउत थारुलगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैगरी मन्त्री चौधरीलाई जिराभवानी गाउँपालिका-२ सेढवामा पनि भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेस वडा सभापति सरोज चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाजागाजासहित गाउँ परिक्रमा गरी मन्त्री चौधरीलाई स्वागत गरिएको थियो । सो अवसरमा उनलाई खादा, गम्छा, माला तथा टीका लगाएर सम्मान गरियो ।

यसका अतिरिक्त जगरनाथपुर र ठोरी गाउँपालिकामा समेत मन्त्री चौधरीको स्वागत कार्यक्रम आयोजना गरिने जानकारी प्राप्त भएको छ ।


सम्बन्धित समाचार