Logo

२ वैशाख,जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामबाट सुरु गरिएको स्वच्छ, सफा र सुन्दर सहर निर्माण अभियान प्रदेशका सबै १३६ स्थानीय तहमा विस्तार गरिने बताएका छन्।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतोले सार्वजनिक स्थलको संरक्षण र सरसफाइका लागि सुरु गरिएको अभियान अब प्रदेशभरका नगरपालिका तथा गाउँपालिकामा लागू गरिने जानकारी दिए।

उनले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग भएको समन्वय बैठकपछि सबै स्थानीय तहसँग मिलेर सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण हटाउने तथा सरसफाइ अभियानलाई तीव्र बनाउने निर्देशन दिइएको बताए।

मन्त्री महतोका अनुसार, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले यहाँका सम्पदाको प्रभावकारी प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि भई आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ।

उनले प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको पनि स्पष्ट पारे।


सम्बन्धित समाचार