Logo

२ वैशाख,काठमाडौं । सशस्त्र प्रहरी बलले भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षा मजबुत बनाउन ठूलो संख्यामा जनशक्ति थप गरेको छ भने भीड नियन्त्रणका घटनामा प्रारम्भिक चरणमै नखटिने नयाँ नीति तयार गर्ने तयारी गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टका अनुसार २७ जिल्लाबाट करिब २ हजार २०० थप सुरक्षाकर्मी भारतसँग जोडिएका सीमामा परिचालन गरिएको छ। यो संख्या केही दिनमै करिब ३ हजार पुग्ने उनले जानकारी दिए।

उनका अनुसार सम्बन्धित प्रदेशका बाहिनीहरूले आफ्नो क्षेत्रका सीमावर्ती जिल्लामा गण, गुल्म र अन्य युनिटबाट जनशक्ति खटाएका छन्। हाल झापादेखि कञ्चनपुरसम्मका २७ तराई जिल्लामा २४ सै घण्टा गस्ती गर्नेगरी सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारले आवश्यकता अनुसार पहाडी जिल्लाबाट समेत जनशक्ति झिकेर तराई तथा सीमाक्षेत्रमा स्थायी रूपमा तैनाथ गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरीले भने दीर्घकालीन रूपमा १० देखि १२ हजार थप जनशक्ति आवश्यक पर्ने माग अघि सारेको छ।

यसैबीच, भीड नियन्त्रणमा सशस्त्र प्रहरीलाई सुरुमै नखटाउने गरी नयाँ कार्यविधि तयार भइरहेको छ। प्रस्तावित व्यवस्था अनुसार सुरुवाती चरणमा नेपाल प्रहरीले मात्र सम्झाउने, लाठीचार्ज, अश्रुग्यास, पानीको फोहरा र अन्य नियन्त्रण उपाय अपनाउनेछ। अवस्था नियन्त्रण बाहिर गएपछि मात्र सशस्त्र प्रहरी परिचालन गरिनेछ।

सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार दुवै सुरक्षा निकाय एकैसाथ सुरुदेखि खटिँदा समन्वय र जिम्मेवारीमा अस्पष्टता देखिएकोले भूमिका छुट्याउने गरी निर्देशिका तयार गरिएको हो, जुन अहिले गृह मन्त्रालयमा छलफलमा छ।

सरकारले सशस्त्र प्रहरीलाई सीमासुरक्षासँगै औद्योगिक र रेलवे सुरक्षामा समेत विस्तार गर्ने योजना अघि बढाएको छ। यसअघि बीओपी (बोर्डर आउट पोस्ट) संख्या ४२५ पुर्‍याउने प्रस्ताव गृह मन्त्रालयमा पेस भइसकेको छ, जबकि हाल देशभर २६० बीओपी मात्र सञ्चालनमा छन्।

यस्तै, दंगा नियन्त्रणका लागि कीर्तिपुरको नीलबाराही गणलाई विशेष दंगा नियन्त्रण गणका रूपमा रूपान्तरण गरिएको छ। मन्त्रिपरिषद्ले उक्त गणमा दरबन्दी थप गर्ने निर्णय गरे पनि अन्य युनिटबाट समायोजन गरेर कमान्ड संरचना मिलाइएको छ।

यसै विषयमा जेन–जी आन्दोलन जाँचबुझ आयोगले पनि भीड नियन्त्रणमा दुई सुरक्षा निकायबीच भूमिकाको अस्पष्टताले समस्या देखिएको भन्दै स्पष्ट कार्यविभाजन आवश्यक रहेको निष्कर्ष निकालेको छ।


सम्बन्धित समाचार