२ वैशाख,काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथिको अध्ययन पूरा गर्दै पार्टीलाई प्रतिवेदन बुझाएको छ।
सरकारद्वारा गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले अध्ययन पूरा गरी आज पार्टी नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक खनालले ५२ पृष्ठको प्रतिवेदनमा जेनजी आन्दोलनको समग्र विश्लेषण भए पनि भदौ २४ गतेका घटनालाई पर्याप्त रूपमा समेट्न नसकिएको टिप्पणी गरे।
उनका अनुसार अध्ययन समितिले विशेषगरी २४ गतेका घटनालाई आयोगले कम प्राथमिकता दिएको निष्कर्ष निकालेको छ। खनालले आयोगले समय अभावलाई कारण देखाए पनि पटक–पटक म्याद थपिएको अवस्थामा यस्तो तर्क उपयुक्त नभएको दाबी गरे।
उनले भने, “२४ गतेका घटनाबारे विस्तृत विवरण समेट्नुपर्ने थियो, जुन पर्याप्त रूपमा भएको देखिएन।”
समितिले आफ्नो प्रतिवेदनमा थप विवरणसहित सुझावहरू पनि समावेश गरेको जनाएको छ।
कार्की आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। पछि दुवै नेता हिरासतबाट मुक्त भइसकेका छन्।
कांग्रेसले अब उक्त अध्ययन प्रतिवेदनका आधारमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

















