२ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटलाइज गर्ने तयारी भइरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको विवरण अद्यावधिक गर्दै क्षमता पहिचान र जिम्मेवारी वितरणलाई सहज बनाउन डिजिटल प्रणाली लागू गर्न लागिएको जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार नयाँ प्रणालीमार्फत कुनै सदस्य कहिलेदेखि पार्टीमा आबद्ध भएको हो, उसको क्षमता के हो र उसलाई कुन जिम्मेवारी उपयुक्त हुन्छ भन्ने विवरण व्यवस्थित रूपमा अभिलेख हुनेछ।
उनले सदस्यता अद्यावधिक प्रक्रियाका क्रममा पुराना अभिलेख हटाउने भन्ने आरोप असत्य भएको स्पष्ट पारे।
“आजको डिजिटल युगमा कांग्रेसका सदस्यलाई पार्टीसँग डिजिटल रूपमा जोड्ने प्रयास हो,” पौडेलले भने, “पुराना अभिलेख हटाउन होइन, बरु व्यवस्थित र सुरक्षित गर्न डिजिटल प्रणाली लागू गर्न लागिएको हो।”
उनका अनुसार सदस्यहरूको फोन नम्बर र अन्य विवरणका आधारमा पार्टीभित्र तहगत समन्वय र सम्पर्क प्रणाली अझ प्रभावकारी हुनेछ।
महामन्त्री पौडेलले पार्टीभित्र एकता र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन परिणामपछि पार्टी कमजोर देखिएको अवस्थामा सबैलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
आगामी महाधिवेशनलाई व्यवस्थित, विधिसम्मत र निष्पक्ष बनाउन वर्तमान नेतृत्व तयारीमा जुटिरहेको उनले जानकारी दिए।
पौडेलले सदस्यता अद्यावधिक, अधिवेशन तयारी र पार्टीले सार्वजनिक गरेको क्यालेन्डर कार्यान्वयनमा सबै नेता–कार्यकर्तालाई सक्रिय सहयोग गर्न पनि आग्रह गरेका छन्।

















