Logo

२ वैशाख,काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ।

सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा सुरक्षित राखिने बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यस क्रममा भएका घटना तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले ५ असोज २०८२ मा कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य थिए।

आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो।

आयोगका केही सिफारिसहरू हालको सरकारले कार्यान्वयन समेत गरिसकेको बताइएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो।

उक्त सिफारिसअनुसार दुवै नेतालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो भने पछि अदालतको आदेशपछि उनीहरू रिहा भइसकेका छन्।

प्रतिवेदन संसद् सचिवालयमा पुगेपछि यसलाई अब औपचारिक रूपमा अध्ययन तथा अभिलेखीकरणका लागि राखिने भएको छ।


सम्बन्धित समाचार