३ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले ल्याएको ‘एक निर्वाचन क्षेत्र ५ किलोमिटर सडक’ योजना धनुषामा चार वर्षदेखि अलपत्र परेका कारण स्थानीय पूर्वाधार विकासमा गम्भीर समस्या देखिएको छ। धनुषाका ८ प्रादेशिक निर्वाचन क्षेत्रमध्ये ७ वटा सडक अझै पूरा हुन नसकेका हुन्।
पूर्वाधार विकास कार्यालय धनुषाका अनुसार आ.व. २०७८/७९ मा तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा सुरु गरिएको यस गौरवको योजनाअन्तर्गत बनिनियाँ–देउरी, देउरी–बसहिया, बसहिया–ठेरा, ठेरा–लक्ष्मीनिया, लक्ष्मीनिया–कटैया, कटैया–मुसहरी र मुसहरी–मुख्य सडक जोड्ने खण्डहरू अधुरै छन्। केवल धनुषा ४ (क) को जमुनियाँ–बनिनियाँ–हारसर सडक मात्र सम्पन्न भएको छ।
कार्यालयका सूचना अधिकारीका अनुसार बजेट सुनिश्चित नहुँदा ठेक्का प्रक्रिया प्रभावित भई काम अघि बढ्न नसकेको हो। “बजेट सुनिश्चित नभएसम्म काम अगाडि बढाउन सक्ने अवस्था छैन,” उनले बताए।
यसैबीच, तत्कालीन मन्त्री सोनलले सुरु गरेको योजनापछि हाल भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा नयाँ योजना पनि अघि बढाइएको छ। तर पुराना योजनाहरू भने अझै अलपत्र अवस्थामा रहेका छन्।
कार्यालयका तथ्यांकअनुसार उक्त योजनाका लागि कुल ५ करोड ५५ लाख २६ हजार ३४१ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। हालसम्म ८९ लाख ७१ हजार ८२९ रुपैयाँ मात्र भुक्तानी गरिएको छ भने ४ करोड ६५ लाख ५४ हजार ५१२ रुपैयाँ भुक्तानी बाँकी छ।
योजनाअन्तर्गत केही काम अघि बढे पनि बजेट अभावका कारण निर्माण कार्य सुस्त बनेको छ। चालु आर्थिक वर्षमा मात्र १ करोड रुपैयाँ विनियोजन गरिएको जनाइएको छ।
स्थानीयवासीले सडक निर्माणमा ढिलाइ हुँदा वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन्। लामो समयदेखि सडक स्तरोन्नति नहुँदा आवतजावत र स्थानीय विकास दुवैमा असर परेको उनीहरूको भनाइ छ।
यस घटनाले प्रदेश सरकारको पूर्वाधार योजना कार्यान्वयन र बजेट व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ।

















