Logo

३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्री र संघीय संसद्का सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी (पार्टी शुल्क) को दर निर्धारण गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले जनशक्ति परिचालन र पार्टीको आन्तरिक कोष व्यवस्थापनका लागि मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकको निर्णय अनुसार अब रास्वपाका मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ र सांसदहरूले १६ हजार ५ सय रुपैयाँ पार्टीलाई लेबीका रूपमा बुझाउनुपर्नेछ ।

बैठकले मन्त्री र सांसदका साथै उनीहरूको सचिवालयमा कार्यरत स्वकीय सचिवहरूका लागि समेत लेबीको व्यवस्था गरेको छ । पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीका स्वकीय सचिवहरूले मासिक २ हजार रुपैयाँ लेबी तिर्नुपर्ने निर्णय भएको छ । हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवहरूको हकमा मात्र लागू हुने भए पनि भविष्यमा सांसदहरूले समेत स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था भएमा उनीहरूका हकमा पनि सोही दरमा लेबी लाग्ने गरी प्रस्ताव पारित गरिएको छ ।

पार्टीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र राजनीतिक गतिविधिहरूलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न यो कदम चालिएको रास्वपाले जनाएको छ । संसदीय दलको यो बैठकले लेबीको दर निर्धारण गर्नुका साथै आगामी दिनमा सांसद र मन्त्रीहरूको कार्यसम्पादनलाई पार्टीको उद्देश्य र जनअपेक्षा अनुसार थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको थियो ।

नयाँ व्यवस्था अनुसार तोकिएको लेबीको रकम प्रत्येक महिना सांसद र मन्त्रीहरूको पारिश्रमिकबाट कट्टा गरी पार्टीको आधिकारिक कोषमा जम्मा गरिनेछ ।


सम्बन्धित समाचार