४ बैशाख, काठमाडौं । संसदीय समितिको नेतृत्व चयनका लागि आज हुन लागेको निर्वाचनमा एक रोचक राजनीतिक समीकरण देखिएको छ ।
नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई सत्तापक्ष (रास्वपा) का उम्मेदवार विरुद्ध विपक्षी दलहरू एमाले र नेकपाका उम्मेदवारलाई मतदान गर्न ह्विप जारी गरेको छ । विपक्षी दलहरूबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेसले यो रणनीति अपनाएको हो ।
विपक्षी मोर्चाको साझा उम्मेदवार
कांग्रेसको निर्देशन अनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपाकी मदनकुमारी शाह (गरिमा) लाई कांग्रेसले मत दिनेछ । यी दुवै समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट क्रमशः ओजस्वी शेरचन र गणेश कार्की उम्मेदवार छन् ।
यद्यपि, सदनमा रास्वपाको सुविधाजनक बहुमत रहेकाले विपक्षी गठबन्धनको यो समर्थन केवल सांकेतिक हुने र रास्वपाकै उम्मेदवार विजयी हुने निश्चित प्रायः देखिन्छ ।
निर्विरोध निर्वाचित र राजनीतिक लेनदेन
अर्कोतर्फ, संसदीय समितिका अधिकांश सभापतिहरू भने निर्विरोध निर्वाचित भइसकेका छन् । सार्वजनिक लेखा समितिको सभापतिमा रास्वपाले कांग्रेसका भरतबहादुर खड्कालाई सघाएपछि उनी निर्विरोध भएका हुन् । त्यस्तै, रास्वपाका नौ जना सांसदहरू विभिन्न समितिको सभापतिमा निर्विरोध भइसकेका छन्, जसमा समीक्षा बाँस्कोटा (कानुन), हरि ढकाल (राज्य व्यवस्था) र कृष्णहरि बुढाथोकी (अर्थ) लगायत रहेका छन् ।
शक्ति सन्तुलनको प्रयास
२७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सांसदसहित रास्वपाको बलियो पकड छ । हरेक समितिमा सत्तापक्षको बहुमत भए पनि विपक्षी दलहरूले एकढिक्का भएर उम्मेदवारी दिनुलाई संसदीय राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयासको रूपमा हेरिएको छ ।
विशेष गरी लेखा समितिमा कांग्रेसलाई सघाउने र अन्यमा रास्वपाले आफ्नै उम्मेदवार उठाउने भएपछि विपक्षीहरूले काउन्टर रणनीति स्वरूप साझा उम्मेदवार खडा गरेका हुन् ।

















