Logo

७ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ११ गते निर्वाचन हुने भएको छ ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले आज कार्यतालिका सार्वजनिक गर्दै चुनावी प्रक्रिया अघि बढाउने तयारी गरेको हो । निर्वाचन हुनुअघि वैशाख ९ गते दलको विधान संशोधन गरी पारित गर्ने र त्यसकै आधारमा ११ गते मतदान गराउने समितिको योजना छ । प्रतिनिधिसभाका अन्य दलहरूले यसअघि नै नेता छानिसके पनि कांग्रेसमा भने आन्तरिक खिचातानीका कारण ढिलाइ हुँदै आएको थियो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ३८ सांसदले नयाँ नेता चयनका लागि मतदान गर्नेछन् । यसपटक दलको नेताका लागि भीष्मराज आङदेम्बे र अर्जुननरसिंह केसीले मुख्य दाबेदारी प्रस्तुत गरेका छन् ।

लामो समयसम्म दलको नेता विहीन हुँदा संसद्मा पार्टीको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला हुन लागेको यो निर्वाचनलाई चासोका साथ हेरिएको छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै पार्टीभित्र नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ ।


सम्बन्धित समाचार