Logo

७ वैशाख,सेढवा । ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका कुखुरा तथा हाँसका चल्ला बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको गस्ती टोलीले उक्त अवैध सामग्री नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश पटेलको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका–४ विजय बस्ती हुँदै भारतबाट ल्याउँदै गरेको अवस्थामा कुखुरा र हाँसका करिब ३०० चल्ला तथा ५० किलो भारतीय ब्रोइलर कुखुरा पक्राउ गरेको जनाएको छ।

बरामद गरिएको कुखुरा तथा चल्ला स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइन, कुखुरा व्यवसायी, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपाल पोखरेलले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा हुने अवैध आयातले स्थानीय कृषक र पशुपन्छी स्वास्थ्यमा असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।


सम्बन्धित समाचार