Logo

फाइल तस्वीर

७ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र धावनमार्ग विस्तार कार्यलाई तीव्रता दिन उडान समयमा कटौती गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अर्थात वैशाख ७ देखि जेठ ४ गतेसम्मका लागि विमानस्थल सञ्चालनको समय घटाउँदै दैनिक ६ घण्टा ४५ मिनेट बन्द गर्ने निर्णय गरेको हो । यसअघि राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द हुँदै आएकोमा अब राति ११ः४५ बजेदेखि नै उडान–अवतरण रोकेर बिहान ६ः३० बजे मात्र विमानस्थल खुला गरिनेछ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलको दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा महत्वपूर्ण निर्माण कार्य गर्नुपर्ने भएकाले थप समय आवश्यक परेको हो । आगामी २७ दिनसम्म लागू हुने यो नयाँ तालिकाले रात्रिकालीन उडानहरूलाई प्रभावित पार्ने भए पनि रनवेको दीर्घकालीन सुधार र सुरक्षाका लागि यो कदम अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

विमानस्थल बन्द हुने समय थपिएसँगै विभिन्न वायुसेवा कम्पनीहरूले आफ्ना उडान तालिकाहरूमा आवश्यक परिमार्जन गरेका छन्, जसका कारण यात्रुहरूलाई आफ्नो उडान समय पुनः यकिन गर्न आग्रह गरिएको छ ।


सम्बन्धित समाचार