८ बैशाख, काठमाडौं । बारम्बार विवादको घेरामा परिरहने सिरहा कारागारमा मंगलबार बिहान फेरि अर्को तनावपूर्ण स्थिति सिर्जना भएको छ ।
कारागारभित्रको आन्तरिक प्रशासन र व्यवस्थापन आफ्नो कब्जामा लिने प्रयास गरेको आरोपमा प्रहरीले २३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही दिनअघि मात्रै ती कैदीहरूले वर्तमान चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकालेर कारागारको आन्तरिक सत्ता आफ्नो हातमा लिने प्रयास गरेका थिए । सोही घटनापछि कारागारभित्र थप हिंसा र असुरक्षा बढ्न सक्ने जोखिम देखिएकाले सुरक्षा निकायले तत्काल हस्तक्षेप गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कारागार व्यवस्थापनमा देखिएको यो अराजकता र गुटबन्दी सिरहा कारागारका लागि नयाँ विषय भने होइन। यसअघि पनि पटक(पटक कैदीहरूबीच झडप र कुटपिटका घटनाहरू बाहिर आउने गरेका थिए । केही समयअघि मात्रै कारागारभित्रैबाट कटुवा पेस्तोल र गोली बरामद भएपछि सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्नचिह्न खडा भएको थियो ।
तत्कालीन समयमा ‘डन’ शैलीमा आन्तरिक शासन चलाइरहेका इन्द्रजित यादवसहितका कैदीहरूलाई अन्यत्र सारेपछि स्थिति केही शान्त हुने अपेक्षा गरिए पनि अहिले फेरि अर्को समूहले कारागार प्रशासनलाई चुनौती दिएको छ ।
हाल नियन्त्रणमा लिइएका २३ जना कैदीहरूलाई कुन कारागारमा स्थाान्तरण गर्ने भन्ने विषयमा कारागार विभागसँग अनुमति मागिएको र प्रक्रिया पूरा भएपछि उनीहरूलाई सिरहाबाट सारिने प्रशासनले जनाएको छ । सुरक्षाकर्मीको मिलेमतो र फितलो व्यवस्थापनका कारण सिरहा कारागार बारम्बार ‘अखाडा’ जस्तै बन्ने गरेको भन्दै स्थानीय स्तरमा चिन्ता व्यक्त गरिएको छ ।
पेस्तोल र गोली फेला परेको घटनादेखि हालको विद्रोहसम्म आइपुग्दा कारागारभित्र मौलाएको आपराधिक गुटबन्दीलाई पूर्ण रूपमा निस्तेज पार्न प्रशासनका लागि ठूलो चुनौती देखिएको छ ।

















