काठमाडौँ । इरानमा इरानी रेभुल्युसनरी गार्डद्वारा नियन्त्रणमा लिइएका नेपाली युवक अमृत झाको रिहाइलाई लिएर कूटनीतिक वृत्तमा केही अन्योल देखिएको छ ।
स्थानीय अदालतले रिहाइको आदेश दिएसँगै उनको घर फिर्तीको बाटो खुले पनि उनी अझैसम्म जेलमुक्त भई नपाइएको तथ्य बाहिर आएको छ । यसअघि गत वैशाख २ गते नै परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र मन्त्रालयले झा रिहा भई इरानको केश्म आइल्यान्डमा सुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्लो जानकारी अनुसार उनी अझै पनि कानुनी प्रक्रियामै रहेको र पूर्ण रूपमा मुक्त भइनसकेको पाइएको हो ।
परराष्ट्र मन्त्रालयले अघिल्लो सूचनामा बुझाइको केही कमी भएको स्वीकार गर्दै अहिले झाको रिहाइ प्रक्रिया अन्तिम चरणमा रहेको स्पष्ट पारेको छ। परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अदालतको फैसलापछि प्रशासनिक प्रक्रियाहरू मिलाउने कार्य भइरहेको छ र मन्त्रालयले कतारस्थित नेपाली दूतावासमार्फत इरानी पक्षसँग निरन्तर समन्वय गरिरहेको छ ।
अन्तर्राष्ट्रिय जलक्षेत्रको कानुन उल्लङ्घन गरेको आरोपमा होर्मुज स्ट्रेटबाट उनी सवार जहाजसहित ७ जनालाई इरानी सुरक्षा बलले नियन्त्रणमा लिएको थियो । सोही समूहका ७ मध्ये ४ जना यसअघि नै स्वदेश फर्किसकेका छन् भने झासहित अन्य ३ जनाको प्रक्रिया अझै टुङ्गिएको छैन ।
सन् २०२४ जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई पुगेका अमृत ‘अल लुलु मरिन सर्भिसेस’ मा ‘सीम्यान’ का रूपमा कार्यरत रहँदा पक्राउ परेका थिए । पक्राउ परेलगतै उनले ह्वाट्सएपमार्फत अडियो सन्देश पठाउँदै आफ्नो जीवन रक्षाका लागि नेपाल सरकारसँग गुहार मागेका थिए ।
सोही सन्देशका आधारमा कन्सुलर सेवा विभाग र कूटनीतिक नियोगहरूले सक्रियता देखाएका थिए । लामो कूटनीतिक प्रयासपछि अदालतबाट सफाइ पाए पनि प्राविधिक कारणले रिहाइमा ढिलाइ हुँदा उनको परिवार र आफन्तहरू भने अझै चिन्तित देखिएका छन् । मन्त्रालयले भने अबको केही दिनमै उनी पूर्ण रूपमा मुक्त हुने विश्वास व्यक्त गरेको छ ।

















