Logo

८ वैशाख,काठमाडौं । नेपाली बजारमा केराको अभावसँगै मूल्य अत्यधिक बढेको छ। विशेषगरी भारतीय नाकाबाट अवैध रूपमा आउने केरा व्यवसायीहरूले बहिष्कार गरेपछि आपूर्ति घट्दा बजारमा अभाव देखिएको हो।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार केही समयअघि भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा बजारमा आपूर्ति सहज थियो। तर हाल त्यस्ता केराको बिक्री वितरणमा रोक लगाइएपछि आपूर्ति घटेर मूल्य वृद्धि भएको हो।

उहाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई वास्तविक आपूर्ति अभावका कारण भएको स्पष्ट पार्नुभयो। “नेपालको उत्पादन निकै कमजोर छ, अवैध केरा रोकिएपछि बजार खाली भयो र त्यसैले मूल्य बढ्यो,” उहाँले भन्नुभयो।

अहिले बजारमा गुणस्तरीय केरा अभाव हुँदा केही स्थानमा प्रतिदर्जन ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म तिरेर खरिद गर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ।

बानियाँका अनुसार सिमाना र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा समेत बजारमा प्रवेश गर्ने गरेको छ। यसलाई नियन्त्रण गर्न अझ कडाइ आवश्यक रहेको उहाँको सुझाव छ।

किसानहरूले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बिक्री गर्ने गरेको दाबी गर्दै मूल्यवृद्धिको दोष बिचौलियामा रहेको आरोप लगाएका छन्। तर व्यवसायी संघले यो आरोप अस्वीकार गरेको छ।

संघका अनुसार सरकारले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशत हाराहारी मात्र रहेको छ। उत्पादन वृद्धि र नियमन सुधार नगरेसम्म बजार अस्थिर रहने व्यवसायीहरूको भनाइ छ।


सम्बन्धित समाचार