Logo

९ बैशाख, काठमाडौं । काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी विशेष अदालतको धरौटी माग गर्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी तिर्नुपर्ने आदेश बदरको माग गर्दै उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

भण्डारीले आफू उक्त निर्माण कार्यको मुख्य निर्णयकर्ता नभई केवल टिप्पणी पेश गर्ने जिम्मेवारीमा मात्र रहेको दाबी गरेका छन्। आफूमाथि लगाइएको आरोप र माग गरिएको धरौटी न्यायोचित नभएको जिकिर गर्दै उनले उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको ठहर गर्दै निर्देशक भण्डारीसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो, जसलाई चुनौती दिँदै उनी अहिले न्यायिक पुनरावलोकनका लागि सर्वोच्च पुगेका हुन् ।


सम्बन्धित समाचार