Logo

९ बैशाख, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकको प्रशासनिक संयन्त्रलाई चुस्त र जनमुखी बनाउन कर्मचारीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले एक सूचना जारी गर्दै कर्मचारीहरूलाई प्रचलित कानुन र व्यवसायिक मर्यादाभित्र रही आफ्नो जिम्मेवारी निर्वाह गर्न सचेत गराएकी हुन् । सरकारले अघि सारेको शासकीय सुधारका कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित यो निर्देशन जारी गरिएको हो ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय बुँदे कार्यसूचीमा निजामती कर्मचारीको आचरण र कार्यक्षमतालाई मुख्य प्राथमिकतामा राखिएको छ । प्रशासनिक क्षेत्रमा व्याप्त भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सेवा प्रवाहलाई उदाहरणीय बनाउन ‘कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गर्ने’ बुँदालाई मन्त्रालयले विशेष जोड दिएको छ ।

कर्मचारीहरूले निष्पक्ष, तटस्थ र व्यवसायिक बन्दै सरकारका निर्णयहरूलाई जनस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने वातावरण सुनिश्चित गर्न यो कदम चालिएको सूचनामा उल्लेख छ ।

निर्देशनमा निजामती सेवा ऐन र नियमावलीमा व्यवस्था गरिएका आचरण सम्बन्धी प्रावधानहरूलाई पूर्ण रूपमा पालना गर्न भनिएको छ । कर्मचारीको कार्यशैलीले नै सरकारको छवि निर्माण गर्ने हुँदा, पदीय मर्यादा कायम राख्दै जनताको सेवामा समर्पित हुन मन्त्रालयले आग्रह गरेको छ ।

शासकीय सुधारको यो अभियानले कर्मचारी संयन्त्रलाई थप जिम्मेवार बनाउने र सार्वजनिक सेवामा देखिएका विकृतिहरू न्यूनीकरण हुने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार