Logo

११ वैशाख, काठमाडौँ । मुलुकको मौसममा देखिएको दुईवटा विपरीत स्वरूपका कारण जनजीवन प्रभावित बन्ने देखिएको छ। एकतर्फ पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ भने अर्कोतर्फ तराईका जिल्लाहरूमा तातो दिन र तातो हावाको लहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भेगमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। तर, तराईका भूभागमा भने वर्षाको सम्भावना नदेखिँदा तापक्रम उच्च भई तातो दिनको सामना गर्नुपर्ने स्थिति देखिएको छ।

तराई क्षेत्रका लागि आजको मौसम निकै चुनौतीपूर्ण देखिएको छ । मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा आज तापक्रम ह्वात्तै बढ्ने र ‘तातो दिन’ हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो हावाको लहरको सम्भावना औंल्याएको छ। यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । तातो हावाबाट बच्न दिउँसोको समयमा घरबाट बाहिर ननिस्कन, पर्याप्त पानी र झोलिलो पदार्थ पिउन तथा घामबाट जोगिने उपाय अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

तराईमा गर्मीको सास्ती भइरहँदा पहाडी र हिमाली भूभागमा भने चट्याङसहित वर्षाको सम्भावना देखिएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका बाँकी पहाडी र हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै, कोशी प्रदेशको तराईका थोरै स्थानमा समेत चट्याङसहितको वर्षा हुन सक्ने अनुमान छ ।

आज राति पनि तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तापक्रममा हुने उतारचढावले स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तराईवासीलाई उच्च सतर्कता अपनाउन र पहाडी भेगमा चट्याङबाट बच्न सुरक्षित रहन मौसमविद्हरूको सुझाव छ ।


सम्बन्धित समाचार