काठमाडौँ, १८ वैशाख । काठमाडौँको सिंहदरबारभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको ‘नर्भ सेन्टर’ मानिने अर्थ मन्त्रालय यतिबेला निकै तातेको छ ।
जेठ १५ को संवैधानिक समयसीमा नजिकिँदै गर्दा बजेट मस्यौदा लेखन समितिले बल्ल पूर्णता पाएको छ । केही दिनअघि दुई प्रभावशाली सहसचिवहरू महेश भट्टराई र सेवन्तक पोखरेललाई विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको चर्चासँगै एकाएक प्रदेशतिर ‘ओभरनाइट’ सरुवा गरिएपछि बजेट टोलीमा रिक्तता छाएको थियो ।
त्यो रित्तो स्थानमा सहसचिव अमृत लम्सालको इन्ट्री भएसँगै अब बजेट टोलीले पूर्ण आकार पाएको छ । बजेटको यो ‘कोर टिम’ को कमान्ड राजस्व व्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीले सम्हालिरहनुभएको छ भने उहाँलाई डा. सुमन दाहाल, धनीराम शर्मा र नयाँ सदस्यका रूपमा भित्रिएका अमृत लम्सालले साथ दिनेछन् ।
मन्त्री फेरबदल र कर्मचारी सरुवाको मारमा परेर केही समय सुस्ताएको बजेट लेखन प्रक्रियाले अब पूर्ण टोली पाएसँगै नयाँ गति लिने विश्वास गरिएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीका प्राथमिकतालाई अंक र शब्दमा ढालेर देशको आर्थिक चित्र कोर्ने यो टोली अहिले २४ सै घण्टा काममा होमिएको छ ।

















