२३ जेठ,वीरगञ्ज । नेपालका कानून कार्यान्वयन निकायहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
शुक्रबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा भारतको वीरगञ्जस्थित महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालालाई हेल्मेटहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत मीणाले नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गरे। उनले सुरक्षा निकायको क्षमता विकास तथा सुदृढीकरणमा भारतले निरन्तर सहयोग गर्दै आएको बताउँदै हस्तान्तरण गरिएका हेल्मेटहरूले नेपालका कानून कार्यान्वयन निकायहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हेल्मेट ग्रहण गर्दै एसएसपी कोइरालाले भारत सरकार तथा भारतीय महावाणिज्यदूतावासप्रति आभार व्यक्त गरे। उनले सुरक्षात्मक सामग्रीले प्रहरी कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने तथा नेपाल प्रहरीको कार्यसम्पादन क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।

हस्तान्तरण गरिएका ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट नेपाल प्रहरीसहित विभिन्न कानून कार्यान्वयन निकायका सुरक्षाकर्मीहरूले प्रयोग गर्ने जनाइएको छ। भीड व्यवस्थापन, विशेष सुरक्षा ड्युटी तथा अन्य संवेदनशील परिस्थितिमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त सामग्री उपलब्ध गराइएको बताइएको छ।
नेपाल–भारतबीच सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य निरन्तर विस्तार हुँदै आएको छ। पछिल्लो सहयोगलाई दुई देशबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।

















