२३ जेठ,काठमाडौं । भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आज नयाँदिल्लीमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध प्रदर्शन गर्ने भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पार्टीले जन्तर मन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आयोजना गरेको हो।
पार्टीले समर्थकहरूलाई शान्तिपूर्ण रूपमा सहभागी हुन तथा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल क्षेत्रसहित विभिन्न संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
पार्टीका संस्थापक अभिजीत डिप्के प्रदर्शनमा सहभागी हुन अमेरिकाबाट नयाँदिल्ली पुगेका छन्। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत ३० वर्षीय डिप्केले पछिल्लो समय अनलाइन अभियानमार्फत सरकारको आलोचना गर्दै आएका छन्।
यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग आबद्ध रहेका डिप्केले करिब एक महिनाअघि व्यङ्ग्यात्मक शैलीमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका थिए। सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेको भनाइ सार्वजनिक भएपछि उक्त अभियान सुरु भएको बताइएको छ।
छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको कक्रोच जनता पार्टीले परीक्षामा हुने अनियमितताको विषय उठाउँदै केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएको छ।
भारतीय शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने जनाइएको छ। प्रदर्शनलाई भारतमा युवा असन्तुष्टि, शैक्षिक सुधार र सामाजिक सञ्जालबाट जन्मिएका वैकल्पिक राजनीतिक अभियानको नयाँ उदाहरणका रूपमा हेरिएको छ।

















