Logo

१८ वैशाख, काठमाडौँ । राजधानीको बल्खुस्थित बागमती नदीको पुलमुनि शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ स्थित नदी किनारबाट प्रहरीले ५५ वर्षीय इन्द्रबहादुर राईको शव निकालेको हो । केही दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका राईको मृत्युको पछाडि सुकुम्बासी बस्तीमा चलाइएको डोजर र त्यसपछिको मानसिक तनाव मुख्य कारण रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, मृतक राई बल्खुको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका थिए ।
उनी विगत दुई–तीन दिनदेखि परिवारबाट हराइरहेका थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ र घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका अनुसार बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा महानगरले डोजर लगाएर संरचनाहरू भत्काएपछि राई निकै चिन्तित र विक्षिप्त बनेका थिए । वर्षौँदेखि ओत लाग्दै आएको बासस्थान गुमेपछि मर्माहत भएका उनले बागमतीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने छिमेकीहरूको भनाइ छ ।

ओत लाग्ने ठाउँ खोसिएपछि उत्पन्न भएको मानसिक दबाबले नै एउटा मजदुरको ज्यान लिएको भन्दै यतिबेला सुकुम्बासी बस्तीमा शोक र आक्रोश फैलिएको छ ।


सम्बन्धित समाचार