Logo

फाइल फोटो

२७ वैशाख, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भीषण आगलागी भएको छ। मध्यरातमा भएको उक्त आगलागीमा परी सो बस्तीका ६ परिवारका १३ वटा घर तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको प्रहरीले जनाएको छ। हावा चलेका कारण आगो छिमेकीका घरहरूमा तीव्र गतिमा फैलिएको थियो । स्थानीय रामनाथ यादवका अनुसार आगलागीबाट रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ, तथा अनिल यादवका दुई घर र एक गोठ जलेका छन्। यस्तै, योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घर पनि आगलागीमा परी पूर्ण रूपमा ध्वस्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट घरभित्र भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना र नगदसहित करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। “सबैथोक आँखाकै अगाडि जलेर सखाप भयो, ओढ्ने–ओछ्याउने कपडासम्म जोगाउन सकिएन,” एक पीडितले दुखेसो पोखे ।

आगलागीको खबर पाउनासाथ हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएका बारुण यन्त्रहरू घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको अथक प्रयासपछि आगो थप बस्तीमा फैलिनबाट जोगिएको थियो ।

राति नै आगो नियन्त्रणमा आए पनि पीडित परिवारको बासस्थान र खाद्यान्न नष्ट भएपछि उनीहरूको बिचल्ली भएको छ । स्थानीय प्रशासनले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको र पीडितलाई तत्काल राहत उपलब्ध गराउन पहल गरिने जनाएको छ। गर्मी र सुक्खा मौसम सुरु भएसँगै तराईका बस्तीमा आगलागीको जोखिम बढेकाले विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।


सम्बन्धित समाचार